गाजामा इजरायली आक्रमणमा आठ जनाको मृत्यु
गाजा, २१ जेठ २०८३ — गाजा पट्टी मा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। प्यालेस्टिनी नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बास लाई उद्धृत गर्दै एएफपीले उक्त जानकारी दिएको हो।
प्रवक्ता बासका अनुसार गाजाका विभिन्न आवासीय भवनहरूमा गरिएको हवाई आक्रमणमा सात जनाको मृत्यु भएको छ भने गाजा सहरको पश्चिमस्थित अल–साती शरणार्थी शिविर मा भएको अर्को आक्रमणमा एक जनाको ज्यान गएको छ।
आक्रमणका क्रममा अल–सिफा अस्पताल मा १५ जना घाइते भएका बताइएको छ।
गत अक्टोबरदेखि युद्धविराम लागू भए पनि इजरायली आक्रमण जारी रहँदा गाजा पट्टीमा हिंसात्मक गतिविधि बढिरहेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता इजरायली आक्रमणमा कम्तीमा ९३६ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो समय हमास र इजरायल दुवैले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्।
युद्धविरामको पहिलो चरणमा इजरायलद्वारा बन्दी बनाइएका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्दी बनाइएका इजरायली बन्धकहरूको रिहाइ समावेश थियो। दोस्रो चरणमा हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्तीको योजना रहेको भए पनि उक्त प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।
यसैबीच, बेन्जामिन नेतन्याहू ले गत साता गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन सेनालाई निर्देशन दिएको बताएका थिए। साथै, हमासको सशस्त्र शाखाका प्रमुख मोहम्मद ओदेह गत साताको इजरायली आक्रमणमा मारिएको जनाइएको छ।