भावनाले मात्र कम्युनिस्ट एकता सम्भव छैन : माधव नेपाल
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनात्मक अभिव्यक्तिले मात्र कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका कमजोरी र विगतका गल्तीहरूको गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए।
उनले सबै कम्युनिस्ट दलले आ–आफ्नो पार्टीभित्र आत्ममन्थन गर्दै वस्तुनिष्ठ समीक्षा गरेपछि मात्र एकताको आधार बन्न सक्ने उल्लेख गरे। “कुराले चिउरा भिज्दैन” भन्ने मदन भण्डारीको भनाइ स्मरण गर्दै उनले अहिले नै पार्टी एकताको सम्भावना नदेखिए पनि मिल्न सकिने विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।