वैदेशिक रोजगार ऐन संशोधनको तयारी, फ्री भिसा–फ्री टिकट व्यवस्था पुनरावलोकन हुँदै
काठमाडौं, ३ असार । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र समसामयिक बनाउन वैदेशिक रोजगार ऐन संशोधनको तयारी भइरहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा ऐनलाई समयानुकूल बनाउन संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
उनका अनुसार हाल लागू रहेको फ्री भिसा–फ्री टिकट व्यवस्थाले श्रमिकहरूलाई अपेक्षित लाभ दिन नसकेको तथा कतिपय अवस्थामा उनीहरू थप आर्थिक भारमा परेको गुनासो आएको छ। त्यसैले उक्त व्यवस्थाको प्रभाव र विकल्पबारे अध्ययन गर्न कार्यदल गठन गरिएको उनले बताए।
मन्त्री यादवले हाल ३० लाखभन्दा बढी नेपाली नागरिक विभिन्न देशमा श्रमिकका रूपमा कार्यरत रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई वैज्ञानिक र व्यवस्थित ढंगले सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए।
त्यस्तै, श्रम स्वीकृतिबिना हजारौँ नेपाली घरेलु कामदार विभिन्न मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थाले श्रमिकहरू समस्यामा पर्दा औपचारिक रूपमा सहायता तथा समाधान उपलब्ध गराउन कठिनाइ हुने गरेको बताए। यस विषयमा मन्त्रालयले विशेष ध्यान दिइरहेको उनको भनाइ थियो।
मन्त्री यादवले विशेष गरी कुवेत मा मात्रै करिब ६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिबिना कार्यरत रहेको जानकारी दिँदै उनीहरूको सुरक्षा, अधिकार र कानुनी संरक्षण सुनिश्चित गर्न आवश्यक पहल भइरहेको बताए।