महानगर यातायातद्वारा थप १६ विद्युतीय बस सञ्चालन
काठमाडौं — महानगर यातायात प्रा.लि.ले थप १६ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।
बुधबार काठमाडौंमा शशिला मोटर्स प्रा.लि.ले बसहरू हस्तान्तरण गरेको हो। ३३ सिट क्षमताका नयाँ बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
चीनबाट आयात गरिएका ती बसमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ। एक पटकको पूर्ण चार्जमा करिब २०० किलोमिटर यात्रा गर्न सकिने बताइएको छ।
कार्यक्रममा महानगर यातायात प्रा.लि.का सचिव केशव नेपालले विद्युतीय सवारीको विकल्प नभएको उल्लेख गर्दै सेवा विस्तारलाई निरन्तरता दिइने बताए।
हाल कम्पनीले २८ वटा सिटी बस र २४ वटा माइक्रो बस गरी ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको छ।