वीरगञ्ज नाकाबाट दलहन आयातमा २२ प्रतिशत गिरावट, १० महिनामा करिब ८ अर्बको कारोबार
वीरगञ्ज — चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै नेपालमा हुने दलहन आयातमा उल्लेखनीय गिरावट आएको छ। भन्सार कार्यालयको तथ्यांकअनुसार यस अवधिमा कुल ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको दलहन आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब २१ करोड रुपैयाँ बराबरको दलहन आयात भएको थियो। यससँग तुलना गर्दा चालु वर्षमा आयात मूल्यको आधारमा करिब २ अर्ब २४ करोड रुपैयाँ अर्थात् २२ प्रतिशतले कमी आएको हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार यस वर्ष मुसुरो, सिमी/राजमा, चना तथा अन्य गेडागुडी सबैको आयातमा गिरावट देखिएको छ।
तथ्यांकअनुसार चालु वर्षको १० महिनामा मुसुरो दालको आयात ३ अर्ब २० करोड रुपैयाँ बराबर भएको छ, जुन गत वर्ष ४ अर्ब ५० करोड रुपैयाँ थियो। त्यसैगरी सिमी/राजमा आयात २ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ भने गत वर्ष यो २ अर्ब ७४ करोड रुपैयाँ थियो।
त्यस्तै, चनाको आयात पनि घटेर १ अर्ब ९२ करोड रुपैयाँमा पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा २ अर्ब १७ करोड रुपैयाँ बराबरको चना आयात भएको थियो।
अन्य गेडागुडीको आयात समेत घटेको देखिएको छ। चालु वर्षमा ४२ करोड रुपैयाँ बराबरको अन्य दलहन आयात भएको छ भने गत वर्ष यो ४५ करोड ८८ लाख रुपैयाँ थियो।
आर्थिक वर्षको सुरुवाती १० महिनामा देखिएको यो गिरावटले दलहन व्यापारको माग, उत्पादन वा आयात संरचनामा परिवर्तन आएको संकेत गरेको छ।