सगरमाथाबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, हिमाल आरोहणमा ७९ देशका आरोही
सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ।
पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणका लागि ४७ समूहका ४६४ आरोहीले अनुमति लिएका छन्, जसबाट १ अर्ब १ करोड २८ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको हो।
सरकारले यस वर्षदेखि रोयल्टी शुल्क बढाएकाले कुल संकलनमा वृद्धि भएको जनाइएको छ। यस सिजनमा २९ हिमालमा १२७ समूहका १,०७२ आरोहीले अनुमति लिएका छन्, जसबाट कुल १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
सगरमाथापछि ल्होत्से र अमादब्लम हिमालमा पनि धेरै आरोही पुगेका छन्। यस वर्ष ७९ देशका आरोही नेपालका हिमाल चढ्न आएका छन्, जसमा चीन, अमेरिका, बेलायत र रुसका आरोहीको संख्या बढी रहेको तथ्यांकले देखाएको छ।