पाकिस्तानको बन्नुमा कार बम आक्रमण र गोलीबारी: १२ प्रहरीको मृत्यु, पाँच घाइते
पाकिस्तानको उत्तर–पश्चिमी बन्नु जिल्लामा भएको कार बम आक्रमण र त्यसपछि भएको गोलीबारीमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
शनिबार राति फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरी आक्रमणकारीहरूले विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर शक्तिशाली विस्फोट गराएको स्थानीय प्रहरी अधिकारीहरूले बताएका छन्।
विस्फोटपछि सशस्त्र समूहका सदस्यहरूले चौकीमा प्रवेश गरी प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएको जनाइएको छ। घटनामा एक प्रहरी अझै बेपत्ता रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।
प्रहरीका अनुसार आक्रमणकारीहरूले भारी हतियारका साथै साना ड्रोनको समेत प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। आक्रमणपछि उनीहरूले प्रहरीका हतियार लुटेर केही कर्मचारीलाई समेत अपहरण गरेको आशंका गरिएको छ।
सीमावर्ती क्षेत्रमा पर्ने बन्नु पछिल्ला वर्षहरूमा सशस्त्र गतिविधि बढ्दै गएको क्षेत्र मानिन्छ। पाकिस्तान र अफगानिस्तानबीच सीमावर्ती क्षेत्रमा बढ्दो तनावका बीच यो आक्रमण भएको हो।
इस्लामाबादले अफगान भूमिलाई केही सशस्त्र समूहका लागि सुरक्षित आश्रयस्थल भएको आरोप लगाउँदै आएको छ भने काबुलले उक्त आरोप अस्वीकार गर्दै आएको छ। पछिल्ला महिनाहरूमा दुवै देशबीच सम्बन्ध थप तनावपूर्ण बन्दै गएको र सीमावर्ती क्षेत्रमा हिंसात्मक घटनाहरू समेत बढिरहेका छन्।