गोला प्रणाली परिवर्तन नहुने सर्वोच्चको स्पष्टोक्ति
काठमाडौं, १३ जेठ — सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि अपनाइँदै आएको गोला प्रक्रिया परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।
पछिल्लो समय नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली हटाएर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी भइरहेको भन्ने हल्ला सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको थियो। तर सर्वोच्च अदालतले त्यसलाई अस्वीकार गर्दै औपचारिक रूपमा कुनै छलफल नै नभएको जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला ले गोला प्रक्रियाबारे पुनर्विचार गर्ने कुनै सोच वा धारणा औपचारिक रूपमा अघि नबढेको स्पष्ट पारे।
उनले भने,
“दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाबारे पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल भएको छैन।”
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध कानुन व्यवसायीहरूको आन्दोलनपछि सर्वोच्च अदालतमा इजलास र मुद्दा छनौट गर्न गोला प्रणाली लागू गरिएको हो।
यस प्रणालीअनुसार दैनिक रूपमा गोला तानेर न्यायाधीशको इजलास निर्धारण गरिन्छ र त्यसपछि मुद्दा सुनुवाइका लागि बाँडफाँड गरिन्छ।
हाल उच्च अदालत, विशेष अदालत र जिल्ला अदालतहरूमा समेत गोला प्रणालीमार्फत मुद्दा सुनुवाइ गर्ने अभ्यास चलिरहेको सर्वोच्चले जनाएको छ।