नगर प्रहरी दुर्व्यवहार प्रकरण: वीरेन्द्रनगर नगरपालिकाले माफी माग्दै क्षतिपूर्ति प्रदान
वीरेन्द्रनगर नगरपालिका ले नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी काफल बेच्ने महिलासँग माफी माग्दै क्षतिपूर्ति दिने निर्णय गरेको छ।
नगर क्षेत्रमा सडक पेटी व्यवस्थापनका क्रममा वडा नम्बर ६ स्थित सिटी बसपार्क क्षेत्रमा डालामा काफल बेच्दै गरेकी धमिला चौलागाईँमाथि नगर प्रहरीले दुर्व्यवहार गरेको घटनापछि नगरपालिकाले सार्वजनिक रूपमा माफी मागेको हो।
नगर प्रमुख मोहनमाया ढकालले पीडित महिलासँग भेट गरी माफी माग्दै राहत तथा क्षतिपूर्ति उपलब्ध गराएकी छन्। घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही हुने नगरपालिकाले जनाएको छ।