दक्षिणी क्यालिफोर्नियामा भीषण डढेलो, १७ हजारभन्दा बढीलाई घर खाली गर्न आदेश
दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ। उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ।
लस एन्जलसबाट करिब ४८ किलोमिटर उत्तर–पश्चिममा रहेको सिमी भ्याली आसपासको पहाडी क्षेत्रमा ‘स्यान्डी फायर’ सोमबारदेखि तीव्र हावाका कारण फैलिएको हो। सुक्खा झाडीबाट सुरु भएको आगो बस्ती नजिक पुगेपछि आपतकालीन कदम चालिएको हो।
अग्नि विभागका अनुसार आगलागीले हालसम्म करिब पाँच वर्गकिलोमिटर क्षेत्र जलेको छ र कम्तीमा एउटा घर पूर्ण रूपमा नष्ट भएको छ। आगो हाल करिब पाँच प्रतिशत मात्र नियन्त्रणमा आएको छ।
हावाको गति केही कम भएपछि नियन्त्रण प्रयासमा प्रगति भए पनि अवस्था अझै जोखिमपूर्ण रहेको अधिकारीहरूले बताएका छन्।
यसैबीच सान्ता रोजा टापुमा पनि अर्को ठूलो डढेलो फैलिएको छ, जसले करिब ५९ वर्गकिलोमिटर क्षेत्र प्रभावित गरेको छ। त्यहाँ केही संरचना नष्ट भएका छन् भने ११ जना कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
अग्नि नियन्त्रकहरूले हवाईमार्फत पानी खसाल्दै आगो नियन्त्रण प्रयास जारी राखेका छन्।