‘मूल्य पारदर्शिता सप्ताह’ सुरु, उद्योग वाणिज्य महासंघको समर्थन
काठमाडौँ — सरकारले घोषणा गरेको ‘मूल्य पारदर्शिता सप्ताह’लाई नेपाल उद्योग वाणिज्य महासंघले पूर्ण समर्थन गर्दै देशभरका उद्योगी तथा व्यवसायीलाई अभियानमा सक्रिय सहभागी हुन आह्वान गरेको छ।
महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा आजदेखि जेठ ३ गतेसम्म सञ्चालन हुने अभियानप्रति ऐक्यवद्धता जनाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गर्ने निर्णय गरेसँगै निजी क्षेत्रले सहयोग जनाएको हो।
महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
अभियानअन्तर्गत सबै उद्योगी, पैठारीकर्ता, सप्लायर्स, थोक तथा खुद्रा बिक्रेतालाई आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची स्पष्ट र देखिने गरी राख्न आग्रह गरिएको छ।
त्यसैगरी, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आफ्ना क्षेत्रका बजारमा मूल्यसूचीको पालना भए–नभएको अनुगमन गर्न र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।
महासंघले सम्पूर्ण व्यवसायीलाई अभियानलाई सफल बनाउन सक्रिय सहभागिता जनाउन आग्रह गर्दै पारदर्शी मूल्य प्रणालीले उपभोक्ता अधिकार संरक्षण र बजार अनुशासन कायम गर्न सहयोग पुग्ने जनाएको छ।