तमिलनाडुको मुख्यमन्त्री बने अभिनेता विजय, शपथलगत्तै गरे ठूला निर्णय
तमिलनाडुका लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ सी. जोसेफ विजय आइतबार तमिलनाडुको नवौँ मुख्यमन्त्री बनेका छन्। तमिलगा भेत्री कडगम (टीभीके) का प्रमुख विजयले तमिल भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ ग्रहण कार्यक्रममा राहुल गान्धी समेत उपस्थित थिए। शपथका क्रममा विजयले निर्धारित पाठभन्दा बाहिर गएर बोल्न थालेपछि आरिफ मोहम्मद खान ले उनलाई रोक्दै लिखित पाठअनुसार मात्रै शपथ पढ्न आग्रह गरेका थिए।
विजयसँगै अन्य ९ मन्त्रीले पनि शपथ लिएका छन्। उनीहरूमा एन आनन्द, आधव अर्जुन, डा. केजी अरुणराज, केए सेंगोट्टैयन, पी. वेङ्कटरमणन, आर. निर्मलकुमार, राजमोहन, डा. टीके प्रभु तथा सेल्वी एस. कीर्तना रहेका छन्। सबै मन्त्री विजयकै पार्टी टीभीकेका विधायक रहेका छन् भने सहयोगी दलका कुनै पनि सांसदलाई पहिलो मन्त्रिपरिषद्मा समावेश गरिएको छैन।
मुख्यमन्त्री बनेलगत्तै विजयले घरेलु उपभोक्तालाई २०० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने, महिला सुरक्षाका लागि विशेष सुरक्षा बल गठन गर्ने तथा लागुऔषधविरुद्ध कडा अभियान सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
शपथका क्रममा विजयले भने, “भारतको संविधानप्रति पूर्ण आस्था र निष्ठा राख्नेछु। तमिलनाडुको मुख्यमन्त्रीका रूपमा भारतको एकता र अखण्डता जोगाउनेछु। कसैसँग डराउने छैन र पक्षपातपूर्ण आदेश मान्ने छैन। सबै नागरिकलाई न्याय गर्नेछु।”
यसअघि शनिबार विजयले चौथोपटक राज्यपालसँग भेट गर्दै टीभीकेसहित कांग्रेस, सीपीआई, सीपीएम, भीसीके र आईयुएमएलका १२१ सांसदको समर्थन पत्र बुझाएका थिए। त्यसपछि राज्यपालले उनलाई सरकार गठनका लागि निमन्त्रणा दिएका थिए।
दुई वर्षअघि स्थापना भएको टीभीकेले पहिलोपटक लडेको विधानसभा निर्वाचनमै २३४ मध्ये १०८ सिट जितेको थियो। सहयोगी दलको समर्थनपछि विजयसँग १२१ सांसद पुगेका छन्। सरकार गठनका लागि ११८ सिट आवश्यक पर्ने व्यवस्था छ।
तमिलनाडुमा सन् १९६७ पछि पहिलोपटक गैर–द्रविड दलको नेतृत्वमा सरकार बनेको हो। यसअघि १९६३ देखि १९६७ सम्म कांग्रेसका एम. भक्तवत्सलम मुख्यमन्त्री रहेका थिए।
मुख्यमन्त्री बनेपछि विजयले पहिलो सम्बोधनमा आफू कुनै शाही परिवारबाट नआएको भन्दै जनताले नै स्वीकार गरेको बताए। उनले झुटा वाचा गरेर जनतालाई धोका नदिने प्रतिबद्धता व्यक्त गर्दै अघिल्लो डीएमके सरकारमाथि राज्यलाई १० लाख करोड भारतीय रुपैयाँ ऋणमा डुबाएको आरोपसमेत लगाए।
उनले राज्यको आर्थिक अवस्थाबारे पारदर्शिता कायम गर्न ‘श्वेतपत्र’ जारी गरिने घोषणा गर्दै भने, “हामीलाई काम गरेर देखाउने समय दिनुहोस्। लागुऔषधविरुद्ध कडा कारबाही हुनेछ। जनताको एक रुपैयाँ पनि दुरुपयोग हुन दिइने छैन। अब नयाँ शासन व्यवस्थाको सुरुआत भएको छ। धर्मनिरपेक्षता र सामाजिक न्यायको नयाँ युग सुरु भएको छ।”