यातायात विभागद्वारा देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का
काठमाडौं — यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता अनिश्चितकालका लागि रोक्ने निर्णय गरेको छ। ट्राफिक व्यवस्थापनसहित सार्वजनिक यातायात प्रणालीमा देखिएका समस्या समाधानका लागि अर्को सूचना जारी नभएसम्म नयाँ दर्ता स्थगित गरिएको विभागले जनाएको छ।
विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्रअनुसार यो निर्णय सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई पठाइएको छ। निर्णय इन्धनबाट चल्ने तथा विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारी साधनमा लागू हुनेछ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) मा रहेको सार्वजनिक हितका लागि नयाँ दर्ता रोक्न सकिने कानुनी व्यवस्था प्रयोग गर्दै उक्त निर्णय गरिएको विभागले स्पष्ट पारेको छ।
विभागले हालको यातायात व्यवस्थापनमा देखिएका चुनौती समाधान नभएसम्म यो रोक जारी रहने संकेत दिएको छ।