रास्वपाबाट उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण अनिवार्य
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ। पार्टीले वडाध्यक्षदेखि मेयर–उपमेयरसम्मका पदमा उम्मेदवारी दिन चाहने सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको हो।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। रास्वपाले आगामी स्थानीय तह तथा प्रदेश सभाको निर्वाचनको तयारी स्वरूप यो व्यवस्था लागू गरेको जनाएको छ।
यसअघि पार्टीको संसदीय दलको बैठकले उम्मेदवार छनोट रूपरेखा तयार गर्न ‘क्यान्डिडेट क्लब’ सम्पादन समिति गठन गरेको थियो। उक्त समितिको संयोजकमा सह–महामन्त्री विपिनकुमार आचार्य र सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाना चयन भएका छन्। साथै संघीय सांसदहरूसहित अन्य पाँच जना सदस्य पनि समितिमा रहेका छन्।
रास्वपाले वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’ को अभ्यास सुरु गर्ने निर्णय समेत गरेको छ। उम्मेदवारलाई प्रशिक्षण र छनोट प्रक्रियालाई व्यवस्थित बनाउन यो कार्यक्रम अघि बढाइएको बताइएको छ।
यसैबीच, पार्टीले निर्वाचनको टिकटबारे कसैलाई कुनै प्रतिबद्धता नगर्न निर्देशन दिएको छ। यदि यस्तो गलत अभ्यास भएको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाही गरिने चेतावनी पनि रास्वपाले दिएको छ।