रास्वपाभित्र गुट राजनीति अस्वीकार्य: टिकटसमेत नदिने रवि लामिछानेको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र ‘रवि समूह’ र ‘बालेन समूह’ भनेर हुने चर्चा अस्वीकार गर्दै यस्तो धारणा राख्ने नेताहरूप्रति चेतावनी दिएका छन्। उनले यस्ता गतिविधि दोहोरिए आगामी निर्वाचनमा टिकटसमेत नदिने बताएका छन्।
आइतबार आयोजित पार्टी सांसदहरूको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र कुनै पनि गुट वा झुण्डको राजनीति स्वीकार्य नहुने स्पष्ट पारे। उनले भने, पार्टीभित्र कसैलाई ‘रवि पक्ष’ वा ‘बालेन शाह पक्ष’ भनेर छुट्याउने प्रवृत्ति गलत भएको उल्लेख गर्दै यसले पार्टी एकतामा असर पार्ने बताए।
लामिछानेका अनुसार पार्टीभित्र केही सांसदहरूले आफूलाई कुनै विशेष समूहसँग जोडिएको देखाउने प्रयास गरेका कारण उनीहरू मन्त्री बन्न नसकेको अवस्था पनि आएको छ। उनले यस्ता भ्रममा नपर्न आग्रह गर्दै पार्टीको आधिकारिक लाइनअनुसार मात्र अघि बढ्नुपर्नेमा जोड दिए।
उनले मिडियामा आउने विभाजनसम्बन्धी हेडलाइनहरू अतिरञ्जित हुने भन्दै पार्टी राजनीतिक रूपमा परिपक्व हुँदै गएको दाबी पनि गरे। “मिलौँ भनेर मात्र मिल्ने कुरा होइन, हामी योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ,” उनको भनाइ थियो।
लामिछानेले पार्टीभित्र एकता कमजोर पार्ने गतिविधि स्वीकार्य नहुने र भविष्यमा पनि त्यस्ता व्यवहार दोहोरिए कडा निर्णय लिनुपर्ने संकेत दिएका छन्।