दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : ‘आत्महत्या दुरुत्साहन’ शंकामा ८ जना पक्राउ
दार्चुला — दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको घटनामा प्रहरीले ‘आत्महत्या दुरुत्साहन’ को आशंकामा ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, मालिकार्जुन गाउँपालिका–२ घर भई हाल व्याँस गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेराका ४६ वर्षीय प्रधानाध्यापक बलदेव सिंह यही वैशाख ४ गते बिहान करिब ०५:३० बजे झुण्डिएको अवस्थामा फेला परेका थिए।
घटनापछि प्रारम्भिक अनुसन्धान अघि बढाउँदै प्रहरीले ज्यानसम्बन्धी कसुर अन्तर्गत ‘आत्महत्या दुरुत्साहन’ को आशंकामा ८ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको छ। उनीहरूलाई दार्चुला जिल्ला अदालतबाट १० दिनको हिरासत अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरू दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानका बासिन्दा रहेका छन्। घटनाको कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१. महाकाली नगरपालिका–१ का ३२ वर्षीय बिक्रमसिंह कुवँर
२. महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलिदत्त भट्ट
३. महाकाली नगरपालिका–५ का ४२ वर्षीय खिमानन्द भट्ट
४. व्याँस गाउँपालिका–४ का ५७ वर्षीय परमानन्द भट्ट
५. व्याँस गाउँपालिका–४ का ३९ वर्षीय पदमराज भट्ट
६. व्याँस गाउँपालिका–४ का ४३ वर्षीय नरेन्द्र दत्त भट्ट
७. व्याँस गाउँपालिका–४ का ५९ वर्षीय हरि दत्त भट्ट
८. बैतडीको पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट
प्रहरीका अनुसार घटनासँग सम्बन्धित सबै पक्ष समेटेर तथ्य संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने छ।