इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक : आईएईए प्रमुख
टोकियो/काठमाडौं — संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीले इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको बताएका छन्।
जापानमा पत्रकारहरूसँग कुरा गर्दै ग्रोसीले मध्यपूर्वमा पछिल्ला युद्ध र तनावपछि इरानको आणविक गतिविधि प्रभावकारी रूपमा अनुगमन गर्न बलियो प्रमाणीकरण प्रणाली तत्काल लागू गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार हाल जारी अमेरिका–इरान वार्तामा इरानले आणविक हतियार विकास नगर्ने सुनिश्चितता प्रमुख विषय बनेको छ। ग्रोसीले इरान सरकारले आफूहरू आणविक हतियार निर्माण गर्ने पक्षमा नरहेको बताउँदै आएको भए पनि केवल राजनीतिक प्रतिबद्धता पर्याप्त नहुने उल्लेख गरे।
उनले इरानको आणविक कार्यक्रममाथि विश्वसनीय र कडा निगरानी प्रणाली छिटोभन्दा छिटो सुरु गर्नुपर्ने बताए। साथै, इरानको युरेनियम भण्डारणसम्बन्धी विषयमा अमेरिका र इरानबीच प्रारम्भिक समझदारी बनेपछि आईएईएले तेहरानसँग पुनः संवाद सुरु गरेको जानकारी दिए।
ग्रोसीका अनुसार प्रारम्भिक छलफल भइसकेका छन् र निकट भविष्यमै प्राविधिक काम अघि बढ्ने अपेक्षा गरिएको छ।
इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ। तर इजरायलसँगको १२ दिने युद्धपछि इरानी संसद्ले पारित गरेको कानुनअनुसार तेहरानले गत जुलाईदेखि आईएईएसँगको सहकार्य स्थगित गरेपछि अन्तर्राष्ट्रिय अनुगमन झन् जटिल बनेको छ।
यसैबीच, अमेरिका र इरानबीच नयाँ सहमतिको प्रयास जारी रहँदा इरानको आणविक कार्यक्रममाथिको पारदर्शिता र निगरानीबारे विश्वव्यापी चासो बढ्दै गएको छ।