रास्वपाले महाधिवेशन कार्यतालिका सार्वजनिक, असार ५ भित्र निर्वाचन प्रक्रिया सक्ने लक्ष्य
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि विस्तृत कार्यतालिका स्वीकृत गर्दै सार्वजनिक गरेको छ।
पार्टी निर्वाचन आयोग उपप्रमुख राम गुरुङका अनुसार जेठ ७ देखि १५ गतेसम्म देशभरका ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यसूची तय गरिएको छ।
त्यसअनुसार जेठ ७ देखि १० गतेसम्म आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन आयोगमा पठाउने काम अघि बढाइनेछ।
कार्यतालिकाअनुसार जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदन संकलन गरिनेछ भने जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गरिनेछ।
त्यसैगरी जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने कार्यसूची छ।
असार ५ गतेभित्र प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण पेस गरिने र सोही समयभित्र इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे छलफल गर्ने योजना रहेको पार्टीले जनाएको छ।
पार्टीका अनुसार महाधिवेशन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र डिजिटल प्रणालीमैत्री बनाउने लक्ष्यसहित कार्यतालिका अघि सारिएको हो।