सुप्रीम कोर्ट टिप्पणीपछि भारतमा ‘ककरोच जनता पार्टी’को डिजिटल आन्दोलन
काठमाडौं/नयाँ दिल्ली — भारतका प्रधानन्यायाधीश सूर्यकान्तले इजलासमा बेरोजगार तथा सामाजिक सञ्जालमा सक्रिय युवाहरूप्रति गरेको टिप्पणीपछि असामान्य डिजिटल प्रतिक्रिया देखिएको छ। उनले ‘परजीवी’ जस्ता शब्द प्रयोग गर्दै केही युवाले व्यवस्थामाथि आक्रमण गर्ने गरेको टिप्पणी गरेपछि सामाजिक सञ्जालमा व्यापक बहस चर्किएको हो।
उक्त टिप्पणीको आलोचना गर्दै केही दिनमै ‘ककरोच जनता पार्टी’ नामक अनलाइन अभियान सुरु भएको छ, जसले छोटो समयमा नै ठूलो संख्यामा फलोअर्स बटुलेर भारतका प्रमुख राजनीतिक दलहरूलाई समेत पछाडि पारिदिएको दाबी गरिएको छ।
मे १६ मा ३० वर्षीय अभिजित दिपकेले यो अभियान सुरु गरेका हुन्। बोस्टन विश्वविद्यालयमा अध्ययनरत दिपके यसअघि आम आदमी पार्टीमा स्वयंसेवकका रूपमा काम गरिसकेका थिए। उनले यसलाई व्यंग्यात्मक रूपमा ‘अल्छी र बेरोजगारहरूको आवाज’ भन्दै सुरु गरेका हुन्।
सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा यस अभियानले पाँच दिनमै उल्लेखनीय वृद्धि गर्दै भारतीय जनता पार्टी (भाजपा) का करिब ८७ लाख र भारतीय राष्ट्रिय कांग्रेसका करिब १ करोड ३० लाख फलोअर्सलाई उछिनेर १ करोड ४४ लाखभन्दा बढी फलोअर्स पुर्याएको बताइएको छ।
यस अभियानको उद्देश्य बेरोजगारी, राजनीतिक जवाफदेही र युवा सहभागिताजस्ता मुद्दालाई व्यंग्यात्मक शैलीमा उठाउनु रहेको बताइन्छ। एक्स (पूर्व ट्विटर) मा यसको खाता देखिन नसक्ने बनाइएको छ भने अन्य प्लेटफर्महरूमा पनि यसको पहुँच तीव्र रूपमा बढिरहेको छ।
यो अनलाइन अभियानले विशेषगरी जेनजी प्रयोगकर्तामाझ लोकप्रियता हासिल गरेको छ। साथै, केही कलाकार, निर्देशक तथा राजनीतिक व्यक्तित्वहरूले समेत यसलाई फलो र समर्थन गरेका छन्।
‘ककरोच जनता पार्टी’ले सामाजिक सञ्जालमार्फत पुराना राजनीतिक शक्तिहरूलाई व्यंग्य गर्दै युवाको आवाजलाई कमजोर नआक्न चेतावनी दिँदै आएको छ।