प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको प्लेकार्डसहित विरोध
काठमाडौं — प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्डसहित विरोध प्रदर्शन गरेका छन्। प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि संसदीय गतिविधिमा तनाव देखिएको हो।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राख्दै “प्रधानमन्त्री प्रश्नबाट भाग्न नपाउने” लगायतका माग अघि सारेका थिए। उनीहरूले प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनुपर्ने अडान राखेका छन्।
यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ स्वयं दिनुपर्ने माग गरेका थिए। तर, प्रधानमन्त्री संसद्मा उपस्थित नभएपछि अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारको तर्फबाट जवाफ दिएका थिए।
संसद्मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था रहे पनि जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा उक्त कार्यक्रम समावेश नभएको बताइएको छ।
यस्तो परिस्थितिमा श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्मै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका हुन्। सभामुखले भने संसद्भित्र प्लेकार्ड प्रदर्शन नगर्न सांसदहरूलाई निर्देशन दिएका छन्।
घटनापछि प्रतिनिधिसभा बैठक केही समय तनावपूर्ण बनेको थियो। प्रतिनिधिसभा मा यस विषयले थप राजनीतिक बहस सिर्जना गर्ने संकेत देखिएको छ।