सरकारद्वारा संघीय संसदको अधिवेशन आह्वान, वैशाख २८ मा बैठक बस्ने प्रस्ताव
सरकारले संघीय संसदका दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार संसद अधिवेशन आह्वान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
यसअघि वैशाख ८ गते सरकारले गरेको सिफारिसअनुसार वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरिएको थियो। तर पछि सरकारले नै समन्वय अभावको कारण देखाउँदै अधिवेशन स्थगित गर्न सिफारिस गरेपछि राष्ट्रपतिले स्थगन गरेका थिए।
त्यसपछि सरकारले सो अवधिमा विभिन्न आठ वटा अध्यादेश जारी गरेको थियो।