प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि कांग्रेसद्वारा संसदीय समिति बैठक बहिष्कार
काठमाडौं, वैशाख २९ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका बालेन शाह लगातार दोस्रो पटक पनि समितिको बैठकमा अनुपस्थित भएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो।
समितिको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो। बैठकमा प्रधानमन्त्री शाहसँग सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले प्रश्न उठाउने कार्यसूची तय गरिएको थियो।
यसअघि वैशाख ९ गते गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन्। सोही कारण समितिले प्रधानमन्त्रीलाई उपस्थित गराई सांसदहरूको जिज्ञासाको जवाफ लिन चाहेको थियो।
कांग्रेसले प्रधानमन्त्री बैठकमा उपस्थित हुनुपर्ने विषयमा समितिका सभापतिलाई पूर्वजानकारीसमेत गराएको जनाएको छ। तर, प्रधानमन्त्री शाह बैठकमा उपस्थित नभएपछि कांग्रेसका सांसदहरूले बैठक बहिष्कार गर्दै बाहिरिएका हुन्।
बैठक बहिष्कार गर्ने कांग्रेस सांसदहरूमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, अर्जुननरसिंह केसी र रेखाकुमारी यादव रहेका छन्।