रास्वपामा आन्तरिक विवाद तीव्र: बारा जिल्ला सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्कासित
बारा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यताबाट निष्कासित गरेको छ। संगठन विभागको पत्र सार्वजनिक भएपछि मधेश प्रदेशमा रास्वपाभित्रको आन्तरिक विवाद थप चर्किएको छ।
अनुशासन आयोगको सिफारिसअनुसार संगठन विभागले स्वर्णकारलाई जेठ ६ गते कारबाही गरिएको पत्र पठाएको हो। पत्रमा उनलाई पार्टीबाट निष्कासन गरिएको उल्लेख भए पनि स्पष्ट कारण भने खुलाइएको छैन।
अनौपचारिक रूपमा उनीमाथि आर्थिक अनियमितता र पार्टीप्रति बफादारी नदेखाएको आरोप लगाइएको बताइन्छ। पत्रमा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले हस्ताक्षर गरेका छन्।
स्वर्णकारले भने सामाजिक सञ्जालमार्फत आफूलाई अन्यायपूर्ण रूपमा कारबाही गरिएको दाबी गरेका छन्। उनले पार्टीभित्र निष्पक्ष छानबिन नगरी राजनीतिक प्रतिशोधका आधारमा निर्णय गरिएको आरोप लगाएका छन्।
उनका अनुसार, आफूले स्पष्टीकरण दिइसकेपछि पनि पार्टीले कुनै औपचारिक छलफल नगरेको र विषय स्पष्ट नगरी निर्णय गरिएको हो। “आन्तरिक मतभेद राखेकै कारण कारबाही गरिएको” उनको दाबी छ।
स्वर्णकारले पार्टीभित्र उम्मेदवारी प्रक्रिया, शुल्क संकलन र टिकट वितरणमा अनियमितता भएको विषय उठाएपछि आफूलाई लक्षित गरिएको आरोप पनि लगाएका छन्। उनका अनुसार, उम्मेदवार छनोटका क्रममा संकलन गरिएको रकम फिर्ता नगरी बाहिरबाट आएका उम्मेदवारलाई टिकट दिइएको विषय उनले उठाएका थिए।
यस विषयमा उनले अब जिल्लाका नेता–कार्यकर्तासँग छलफल गरी आगामी कदम तय गर्ने बताएका छन्।
यस घटनाले रास्वपा भित्रको आन्तरिक व्यवस्थापन र निर्णय प्रक्रियाबारे पुनः प्रश्न उठाएको देखिन्छ।