नागढुंगा–सिस्नेखोला सुरुङमार्ग जेठदेखि सञ्चालनमा आउने
काठमाडौं, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग (२.६८८ किमी) आगामी जेठदेखि सञ्चालनमा आउने भएको छ। सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि सरकार र छनोट भएको कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको छ।
सुरुङमार्ग सञ्चालनका लागि सरकारले जोइन्ट भेन्चरमा रहेको एआरटी नेपाली कम्पनी र युसिन नामक चिनियाँ कम्पनीलाई छनोट गरेको हो। आर्थिक मूल्याङ्कनका आधारमा सबैभन्दा कम प्रस्ताव पेस गरेपछि उक्त कम्पनीसँग सम्झौता गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।
आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार २९ अप्रिलमा सम्झौतामा हस्ताक्षर भएको हो। उनका अनुसार सेवा प्रदायक कम्पनीले तीन महिनाभित्र आवश्यक जनशक्ति तालिम दिएर सुरुङमार्ग सञ्चालनमा ल्याउनेछ।
हाल सुरुङमार्गको निर्माण कार्य करिब ९८ प्रतिशत पूरा भइसकेको छ। सञ्चालन तयारी अन्तर्गत आपतकालीन उद्धार, सुरक्षा तथा व्यवस्थापन सम्बन्धी तालिम दिने काम भइरहेको आयोजनाले जनाएको छ।
“हस्ताक्षरपछि अहिले सञ्चालनको तयारी तीव्र रूपमा भइरहेको छ। पहिलो चरणमा खटिने जनशक्तिलाई आपतकालीन उद्धारलगायतका तालिम दिइनेछ,” निर्देशक नेपालले भने। उनका अनुसार सम्पूर्ण तयारी सकिएपछि जेठ महिनाभित्र सुरुङमार्ग सञ्चालनमा आउनेछ।
सम्झौताअनुसार कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापन गर्नेछ। यसका लागि कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँ लागत लाग्नेछ। सोअनुसार सरकारले वार्षिक करिब २२ करोड रुपैयाँ कम्पनीलाई भुक्तानी गर्नेछ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–तराई आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ।