ग्यालेक्सी फोर के टेलिभिजनलाई १५ दिने अन्तिम सूचना, नउठाए सामान लिलाम हुने चेतावनी
काठमाडौँ — काठमाडौँ महानगरपालिका ले गोरखा मिडिया नेटवर्क प्रा.लि. अन्तर्गत सञ्चालनमा रहेको ग्यालेक्सी फोर के (Galaxy 4K) टेलिभिजनलाई १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम तिरेर आफ्ना सामग्रीहरू लैजान अन्तिम सूचना जारी गरेको छ।
महानगरले आज सूचना जारी गर्दै तोकिएको समयभित्र सामान नहटाइएमा लिलाम प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ।
ग्यालेक्सी फोर के टेलिभिजन का नाममा जारी सूचनाअनुसार, काठमाडौँ महानगर–३ स्थित घरधनी मृगेन्द्रप्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध घरजग्गा खाली गराई भाडा असुल गरिपाऊँ भनी मुद्दा दायर गरेका थिए।
उक्त मुद्दामा महानगरको न्यायिक समितिले २०८१ साल कात्तिकमा घरजग्गा खाली गराउने तथा बहाल रकम र कर असुल गर्ने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न महानगरको नाममा परमादेश जारी गरेको थियो।
अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते घरजग्गा खाली गरिए पनि ग्यालेक्सी फोर के टेलिभिजनका सामग्री भने अझै सोही स्थानमा रहेका छन्।
महानगरका अनुसार, अदालतको आदेशपछि पनि सामान नहटाइएपछि घरधनीले गत वैशाख २१ गते ती सामान लिलाम गरिपाऊँ भनी निवेदन दिएका थिए। सोही निवेदनका आधारमा १५ दिने अन्तिम सूचना जारी गरिएको हो।
तोकिएको अवधिभित्र पनि सामान नउठाइएमा काठमाडौँ महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को दफा ७० अनुसार सामान लिलाम गरिने महानगरले जनाएको छ।
गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजन लामो समयदेखि बन्द अवस्थामा रहेको छ भने अध्यक्ष जीबी राई सहकारी ठगी प्रकरणमा फरार रहेका छन्।