सहकारी पीडितलाई राहत, जेठ पहिलो सातादेखि बचत फिर्ता सुरु हुने
सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने तयारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आवश्यक विवरण संकलनपछि बचत फिर्ता प्रक्रिया सुरु गर्ने जनाएको हो।
समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको बताइएको छ। पाँच लाखभन्दा कम बचत भएका ५८ हजार र सोभन्दा बढी बचत भएका १८ हजार बचतकर्ता रहेको विवरण सार्वजनिक गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलका अनुसार साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिनेछ।
समितिले कर्जा असुलीलाई तीव्र बनाउँदै बचत फिर्ता प्रक्रिया जेठ पहिलो साताबाट सुरु गर्ने र छुट भएका दाबीहरूका लागि साउन पहिलो साता पुनः अवसर दिने जनाएको छ।