उपत्यकामा समन्वय अभावले खानेपानी पाइपमा ६ करोडभन्दा बढी क्षति, महालेखाको प्रतिवेदन
काठमाडौँ — सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँ उपत्यकाभित्र विछ्याइएका खानेपानी पाइपलाइनमा करिब ६ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको पाइएको छ।
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार सडक, विद्युत् लगायतका निर्माण कार्यका क्रममा समन्वय अभावका कारण पाइपलाइनमा क्षति पुगेको हो। सो क्षतिको रकम सम्बन्धित निकायबाट शोधभर्ना लिनुपर्ने भए पनि हालसम्म असुल हुन सकेको छैन।
विवरणअनुसार नेपाल विद्युत् प्राधिकरणका कामबाट १ करोड ६७ लाख रुपैयाँभन्दा बढी, सडक विभागबाट करिब २ करोड ८० लाख रुपैयाँ, ललितपुर महानगरपालिकाबाट १ करोड १२ लाख रुपैयाँभन्दा बढी र अन्य निकायबाट करिब १ करोड ७१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
महालेखाले अन्तरनिकाय समन्वय अभावका कारण सार्वजनिक पूर्वाधारमा निरन्तर क्षति भइरहेको भन्दै तत्काल क्षतिपूर्ति असुली र समन्वय प्रणाली सुधार गर्न सुझाव दिएको छ।