महाकाली नदीमा बेपत्ता भएका कृष्ण चन्द ४ दिनपछि मृत अवस्थामा फेला
बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का ६४ वर्षीय कृष्ण चन्द महाकाली नदीमा बेपत्ता भएको चार दिनपछि मृत अवस्थामा फेला परेका छन्।
चन्द गत मङ्गलबार बिहान करिब ११:३० बजे हल्दुघाट क्षेत्रमा नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका थिए। उनको शव आज महाकाली नदीकिनारमा भारतीय क्षेत्रमा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।
भारतको चम्पावत जिल्लाअन्तर्गत डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिक नदी किनारमा उनको शव भेटिएको हो, जुन क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टि पर्छ।
बेपत्ता चन्दको खोजीका लागि सशस्त्र प्रहरी बलले भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग सहकार्य गरेको थियो। एसएसबीको टोलीले नै उनको शव फेला पारेको बताइएको छ।