राष्ट्रियसभामा सुकुम्बासी, किसान र सीमा नाकाका विषय उठाइयो
काठमाडौं, असार १५ — राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्बासी, कृषि, शिक्षा, सीमा नाका र सुशासनसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद चन्द्रबहादुर केसीले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे। सांसद मीना सिंह रखालले राष्ट्रिय धान दिवसका अवसरमा किसानलाई पर्याप्त पानी, मल र बीउको व्यवस्था गर्न सरकारलाई सचेत गराइन्।
सांसद जगत तिमिल्सिना र रोशनी मेचेले १८ वर्षमुनिका व्यक्तिलाई राजनीतिक दलको सदस्यता दिन नहुने कानुनी व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, सांसद रञ्जित कर्णले सप्तरीको राजविराजमा आन्दोलनरत किसानको माग सम्बोधन गर्न आग्रह गरे भने सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थानमा राज्य स्रोतको दुरुपयोग भएको भन्दै छानबिनको माग गरिन्।
सांसद वासुदेव घिमिरेले कक्षा १२ को परीक्षामा देखिएका त्रुटिप्रति आपत्ति जनाए। सांसद सम्झना देवकोटाले गोरखाका दुईवटा सीमा नाका बन्द हुँदा स्थानीय जनजीवन प्रभावित भएको उल्लेख गर्दै कम्तीमा पर्यटकीय पदमार्गका लागि नाका सञ्चालन गर्न माग गरिन्।
यस्तै, सांसद सोमनाथ पोर्तेलले सुपारी निर्यातमा लगाइएको रोक हटाउन तथा डिएनए परीक्षण गर्ने निर्णय फिर्ता लिएर किसानलाई राहत दिन सरकारसँग आग्रह गरे।