आङ सान सुकीको अवस्था सार्वजनिक गर्न छोरा किम एरिसको माग
लन्डन, असार १५ — म्यान्माकी प्रजातन्त्रवादी नेतृ तथा बन्दी आङ सान सुकीको अवस्थाबारे ठोस प्रमाण सार्वजनिक गर्न उनका कान्छा छोरा किम एरिसले सैन्य सरकारसँग माग गरेका छन्।
लन्डनमा क्योदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई नजरबन्दबाट जेल सारिएको भन्ने जुन्ताको दाबीप्रति गम्भीर शंका व्यक्त गर्दै आमाको वास्तविक अवस्थाबारे पारदर्शी जानकारी दिन आग्रह गरे।
उनका अनुसार सुकी अझै राजधानी नेपिटोस्थित जेलमै रहेको विश्वास छ, तर सैन्य सरकारले उनको अवस्थाबारे कुनै प्रमाण सार्वजनिक गरेको छैन। एरिसले प्राप्त सूचनाअनुसार सुकीको स्वास्थ्य निरन्तर बिग्रँदै गएको र उनी मुटु तथा हड्डीसम्बन्धी समस्याबाट पीडित रहेको बताए।
सन् २०२१ को फेब्रुअरीमा म्यान्मा सेनाले सत्ता कब्जा गरेपछि सुकीलाई विभिन्न अभियोगमा हिरासतमा राखिएको थियो। त्यसयता उनको अवस्थाबारे विश्वसनीय जानकारी सार्वजनिक रूपमा कम मात्र आएको छ।
एरिसले सुकीसँग अन्तिम प्रत्यक्ष सम्पर्क करिब दुई वर्षअघि प्राप्त एउटा पत्रमार्फत भएको बताएका छन्। उनले सुकीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्नेमा जोड दिँदै सैन्य सरकारलाई उड्डयन इन्धन आपूर्ति रोक्नुपर्ने जस्ता कदम प्रभावकारी हुने दाबी गरेका छन्।