बेरुजु दोहोरिनु सुशासनका लागि चिन्ताजनक : सभामुख डीपी अर्याल
काठमाडौं, असार १५ — सभामुख डोलप्रसाद (डीपी) अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
महालेखापरीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय हुन नसक्ने स्पष्ट पारे।
उनले सार्वजनिक वित्त व्यवस्थापन, सूचना प्रविधिको विकास, जोखिम क्षेत्र र नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखा परीक्षण प्रणाली पनि समयअनुसार परिमार्जन हुनुपर्नेमा जोड दिए।
सभामुख अर्यालले महालेखाले औँल्याएका बेरुजु समयमै फछर्यौट गर्नुका साथै आवश्यक सम्परीक्षण र भविष्यमा बेरुजु नै नआउने गरी वित्तीय व्यवस्थापन सुधार गर्नु तीनै तहका सरकार र सरोकारवाला सबैको साझा दायित्व भएको बताए।
उनले सरकारी लेखा परीक्षण मान तथा मार्गदर्शनहरूको प्रभावकारी कार्यान्वयनले लेखा परीक्षणको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय मापदण्डसँगको सामञ्जस्य अझ मजबुत हुने विश्वास व्यक्त गरे।
सभामुख अर्यालले सार्वजनिक स्रोतको प्राप्ति, परिचालन र उपयोगको स्वतन्त्र मूल्यांकन गरी सुधारका विषय औँल्याउने भएकाले महालेखा परीक्षकको कार्यालयप्रति राज्य र नागरिक दुवैको उच्च अपेक्षा रहेको पनि उल्लेख गरे।