राष्ट्रियसभामा कृषि र खाद्य आत्मनिर्भरतामा जोड
काठमाडौं, असार १५ — राष्ट्रियसभाका सदस्यहरूले कृषिलाई प्राथमिकता दिँदै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दीर्घकालीन कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन्।
आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले कृषि क्षेत्रको उत्पादन वृद्धि, किसानको संरक्षण र खाद्य सुरक्षालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद दुर्गा गुरुङले गरिब, सीमान्तकृत तथा भूमिहीन नागरिकको हितलाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताइन्। सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी र योग्यतामा आधारित हुनुपर्ने धारणा राखे।
सांसद सम्झना देवकोटाले धान, बीउलगायत कृषि उत्पादनमा आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरिन्।
त्यस्तै, सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरसम्बन्धी विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए भने सांसद विष्णुकुमारी सापकोटाले बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य बनाउने वा राजनीतिक गतिविधिमा प्रयोग गर्ने कार्य रोक्नुपर्नेमा जोड दिइन्।