झापामा तेस्रो तलाबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु
झापा — झापा जिल्लामा एक दुःखद घटना भएको छ। घरको तेस्रो तलाबाट खस्दा एक बालिकाको ज्यान गएको छ।
दमक नगरपालिका–४की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो। आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५स्थित मञ्जु उप्रेतीको घरमा बसिरहेकी थिइन्। खेल्ने क्रममा उनी झ्यालबाट खसेर गम्भीर घाइते भएकी थिइन्।
घाइते आचार्यलाई उपचारका लागि बिएण्डसी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिएकी छन्।
प्रारम्भिक जानकारीअनुसार, आचार्य फुङलिङ नगरपालिका–३का हेमसागर भट्टराईको कोठामा पाहुनाका रूपमा आएकी थिइन्। घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।