रमेश लेखकविरुद्ध अनुसन्धानका लागि थप दुई दिन म्याद
काठमाडौं — ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखक विरुद्धको अनुसन्धानका लागि अदालतले थप दुई दिन म्याद दिएको छ।
जिल्ला अदालत काठमाडौं का न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्री को इजलासले लेखकलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा दर्जनौँको ज्यान गएको विषयमा अनुसन्धान भइरहेको छ। सोही प्रकरणमा गत शनिबार पक्राउ परेका लेखकको बिहीबारदेखि बयान लिन थालिएको छ।
यसअघि जिल्ला प्रहरी परिसरले उनलाई अदालतमा उपस्थित गराएर पाँच दिनको म्याद लिएको थियो। दोस्रो पटक भने उनलाई भिडियो कलमार्फत अदालतमा उपस्थित गराई म्याद थप गरिएको हो।
हाल लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ र त्यहीँबाट बयान लिने कार्य भइरहेको छ।
उक्त घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्की को संयोजकत्वमा गठन गरिएको जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले उनलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको हो।
प्रकरणमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।