हर्क साम्पाङले संसदमा सरकारलाई ९ बुँदे सुझाव प्रस्तुत गरे
काठमाडौँ — हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधि सभाको बैठकमा सरकारलाई देशको स्वाधीनता, सुशासन, आर्थिक विकास र जनजीविकासँग सम्बन्धित ९ बुँदे माग तथा सुझाव प्रस्तुत गरेका छन्।
बिहीबार संसदको रोस्ट्रमबाट सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने बताए। आफ्नो सम्बोधनको अन्त्यमा उनले ९ बुँदे सुझावसहितको पत्र सभामुख लाई हस्तान्तरण समेत गरेका छन्।
सांसद राईले प्रस्तुत गरेका प्रमुख मागहरू यस प्रकार छन्:
1. एमसीसी खारेज र असंलग्न परराष्ट्र नीति – देशको स्वाधीनता र भू–राजनीतिक सन्तुलनको लागि ‘एमसीसी’ सम्झौता खारेज गर्नुपर्ने।
2. सीमा सुरक्षामा नेपाली सेना – सीमावर्ती क्षेत्रमा निगरानी र नेपाली सेनाको परिचालन।
3. प्रत्यक्ष निर्वाचित कार्यकारी – जनताले प्रत्यक्ष छान्न सक्ने कार्यकारी प्रमुखको चुनाव।
4. जेन–जी’ आन्दोलन र आगजनीको उच्चस्तरीय छानबिन – भदौ २३ र २४ गते भएका हिंसात्मक घटना छान्न उच्चस्तरीय समिति गठन।
5. मन्त्री र सांसदकै सम्पत्ति छानबिन – सम्पत्ति छानबिन अभियान संसद र मन्त्रिपरिषद्का सदस्यबाट सुरु।
6. जीवनोपयोगी र व्यावहारिक शिक्षा – सैद्धान्तिक शिक्षा मात्र नभई उत्पादन र आविष्कारसँग जोडिने शिक्षा नीति।
7. कृषि क्षेत्रको आधुनिकीकरण – कृषिमा देखिएका समस्या पहिचान गरी प्राविधिक उपाय अपनाउने।
8. एक पालिका एक उद्योग, एक परिवार एक रोजगार – प्रत्येक पालिकामा उद्योग स्थापना र परिवारमा रोजगार सुनिश्चित।
9. प्राकृतिक स्रोतको अधिकतम सदुपयोग – ढुंगा, गिट्टी, माटो, खानी र वनजंगलको सार्वजनिक हितमा प्रयोग।
यसबाहेक सांसद राईले सुकुम्बासी बस्तीमा डोजर नचलाउन, काठमाडौं बाहिर पनि नेपाल भन्ने बुझ्न, र भूपू गोर्खालाई समान पेन्सन दिन सरकारलाई सुझाव दिएका छन्।