सर्वोच्चको आदेशपछि ओली र लेखक रिहा हुने
न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेल को संयुक्त इजलासले आइतबार उक्त आदेश दिएको हो। आदेशअनुसार, जिल्ला अदालत काठमाडौंले तेस्रोपटक थपेको ५ दिने म्याद सकिएपछि दुवैजनालाई आगामी चैत २६ गते हिरासतमुक्त गरिनेछ।
यसअघि जिल्ला अदालत काठमाडौं ले २१ चैतदेखि लागू हुने गरी ओली र लेखकलाई तेस्रोपटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
उनीहरूलाई गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन का क्रममा भएको हताहतीसम्बन्धी प्रकरणमा अघिल्लो शनिबार भक्तपुरबाट पक्राउ गरिएको थियो।
ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखक ले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले खारेज गरेको छ। यद्यपि, तेस्रो म्याद समाप्त भएपछि रिहा गर्न सरकारलाई परमादेश दिँदै दुवै नेताको रिहाइको बाटो खुला गरेको हो।
सर्वोच्चको आदेशसँगै अब थपिएको म्याद सकिएपछि ओली र लेखक दुवै चैत २६ गते हिरासतमुक्त हुने निश्चित भएको छ।