उपसभामुख चयनमा रास्वपाभित्र मतभेद, रवि–बालेनबीच सहमति हुन सकेन
काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच यस विषयमा सहमति जुट्न सकेको छैन।
आइतबार बिहान भएको छलफलमा प्रधानमन्त्री बालेन शाहले उपसभामुख पद नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टीलाई दिनुपर्ने धारणा राखेका थिए। तर, सभापति रवि लामिछाने भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई उक्त पद दिनुपर्ने पक्षमा उभिएका छन्।
दुई नेताबीच सहमति हुन नसकेपछि आज बेलुका पुनः छलफलमा बस्ने तयारी गरिएको रास्वपा उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार सभापति लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच एक चरण संवादसमेत भइसकेको छ।
यसअघि रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी) सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन्। संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था भएकाले उपसभामुख चयनलाई लिएर दलभित्र आन्तरिक छलफल तीव्र भएको हो।