इन्धन संकटबीच सरकारको निर्णय: अब सातामा दुई दिन सार्वजनिक बिदा
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यस निर्णयसँगै अब सरकारी कार्यालयहरू तथा शैक्षिक संस्थाहरू सातामा दुई दिन बन्द रहनेछन्। सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त व्यवस्था तत्काल कार्यान्वयनमा आउने जानकारी दिएका छन्।
सरकारका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै इन्धन खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो। पछिल्लो समय इन्धन संकट गहिरिँदै गएपछि सार्वजनिक सेवा सञ्चालनको ढाँचामा परिवर्तन गर्दै खर्च कटौती गर्ने नीति अन्तर्गत यो कदम चालिएको बताइएको छ।
यस निर्णयले प्रशासनिक कामकाज, शिक्षा क्षेत्र तथा सर्वसाधारणको दैनिकीमा केही परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। सरकारले आवश्यक परेमा भविष्यमा यस व्यवस्थाको पुनरावलोकन गरिने पनि जनाएको छ।