भौतिक पूर्वाधार विकास कार्यालयद्वारा १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन
कोशी — भौतिक पूर्वाधार विकास कार्यालय ले सम्झौता भएको दुई महिना बितिसक्दा पनि निर्माण सुरु नगर्ने १९ निर्माण कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार, २६ योजनामा ठेक्का सम्झौता गर्ने ती कम्पनीहरूले तोकिएको समयमा निर्माण सुरु नगरेको पाइएपछि लिखित जवाफ माग गरिएको हो। उनले भने, “समयमै काम सुरु नभएमा वर्षा सुरु हुन्छ, आर्थिक वर्षको अन्त्यतिर गरिएका निर्माण गुणस्तरीय हुँदैन र योजनाका लागि विनियोजित बजेट ‘फ्रिज’ हुने जोखिम रहन्छ।”
निर्माण कम्पनीहरूमा युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पोइन्ट इन्जिनियर डेप्लोपर्स प्रा. लि काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्रा. लि, शान्तिभूमि कन्स्ट्रक्सन प्रा. लि खोटाङ लगायत १९ कम्पनी सामेल छन्। केही कम्पनीहरूले एकभन्दा बढी योजनामा ठेक्का सम्झौता गरेका छन्।
कार्यालयले चेतावनी दिएको छ कि निर्धारित समयभित्र काम सुरु नगरेको खण्डमा कुनै अनावश्यक म्याद थप नगरी कानुन अनुसार बैंक जमानत जफत गरिनेछ। प्राविधिक कर्मचारीको प्रत्यक्ष निगरानीमा कम्पनीहरूले गुणस्तरीय र समयमै काम सम्पन्न गर्नुपर्ने निर्देश पनि दिइएको छ।
यस आर्थिक वर्षमा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत जिल्लामा १२३ योजनामा ठेक्का सम्झौता भएको छ। तीमध्ये २६ योजनाबाहेक अन्य सबै तीव्रगतिमा निर्माण भइरहेको छ। यस वर्षको लागि रु एक अर्ब ९४ लाख ७५ हजार बजेट उपलब्ध गराइएको छ।
यस्तै, प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न परिवारका लागि दुई करोड लागतमा ६० घर निर्माण भइरहेको पनि कार्यालयले जनाएको छ।