पोखरा सभागृह पुनर्निर्माण हुँदै, २९ करोड लागतमा सुविधासम्पन्न बनाइने
पोखरा — करिब ४२ वर्षअघि निर्माण गरिएको पोखरा सभागृह अब आधुनिक सुविधासहित पुनर्निर्माण गरिने भएको छ। पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा करिब २९ करोड रुपैयाँ लागतमा यसको स्तरोन्नति गर्ने सहमति भएको महानगरपालिकाले जनाएको छ।
पोखरा महानगर प्रमुख धनराज आचार्यका अनुसार सभागृहको पुनर्निर्माणका लागि डिजाइन तयार भइसकेको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको संरचनालाई आधुनिक आवश्यकताअनुसार रूपान्तरण गर्ने योजना अघि सारिएको हो।
योजनाअनुसार सभागृहको उत्तरतर्फ दुईपांग्रे सवारीसाधनका लागि पार्किङ, दक्षिणतर्फ शौचालय तथा हालको बगैँचा क्षेत्रमा अन्डरग्राउन्ड पार्किङसहित प्रदर्शनी कक्ष निर्माण गरिनेछ। त्यस्तै दक्षिण–पूर्व भागमा सानो हल र किचेन निर्माण गरिनेछ भने न्युरोडतर्फ भित्र र बाहिर दुवैतर्फबाट प्रयोग गर्न मिल्ने चमेनागृह बनाइनेछ।
महानगरपालिकाका अनुसार सभागृहमा अब कार्यक्रमका लागि ब्यानर टाँस्नुपर्ने बाध्यता हटाइनेछ। यसको सट्टा डिजिटल एलईडी स्क्रिन जडान गरी आधुनिक प्रस्तुति प्रणाली अपनाइनेछ।
पुनर्निर्माणपछि सभागृहलाई विभिन्न संघसंस्था तथा सेवाग्राहीका लागि उचित शुल्कमा प्रयोग गर्न मिल्ने बहुउद्देश्यीय सभाहलका रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। साथै, यसको आम्दानीबाट सञ्चालन खर्च तथा लगानी व्यवस्थापन गर्ने योजना पनि महानगरपालिकाले अघि सारेको छ।
स्थानीय तहले लामो समयदेखि उपेक्षित रहेको सभागृहलाई आधुनिक स्वरूपमा रूपान्तरण गर्न लागेको यो परियोजनाले पोखराको शहरी पूर्वाधार र सांस्कृतिक कार्यक्रम सञ्चालन क्षमतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।