भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि सुरु हुँदै
काठमाडौं — नेपाली सेनाले भूतपूर्व सैनिकहरूको पुनर्मिलन तथा कल्याणलाई लक्षित गर्दै भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि सुरु गर्ने भएको छ।
नेपाली सेनाले २०७० सालदेखि सञ्चालन गर्दै आएको यस सम्मेलनमार्फत अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउनुका साथै उनीहरूको शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारका विषयमा ध्यान दिँदै आएको छ।
हरेक प्रधान सेनापतिको कार्यकालमा एकपटक आयोजना हुने सम्मेलनलाई तीन चरणमा विभाजन गरी देशभर सञ्चालन गर्ने गरिएको छ। यस वर्षको सम्मेलन ‘पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नारासहित सञ्चालन हुँदैछ।
सम्मेलनमार्फत भूतपूर्व सैनिक र बहालवाला सैनिकबीच सम्बन्ध सुदृढ बनाउने, अनुभव आदानप्रदान गर्ने तथा कल्याणकारी कार्यक्रमबारे जानकारी दिने उद्देश्य रहेको नेपाली सेनाले जनाएको छ।
यस वर्ष लुम्बिनी, गण्डकी, मधेस र बागमती प्रदेशका करिब ३३ हजार भूतपूर्व सैनिकको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रम चैत २२ गतेदेखि वैशाख ४ गतेसम्म विभिन्न जिल्लामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ।