अबु धाबी घटनामा घाइते ६ नेपाली डिस्चार्ज, एक जनाको अवस्था खतरामुक्त
अबु धाबी — यूएईस्थित नेपाली राजदूतावासले शुक्रबार भएको घटनामा घाइते भएका नेपाली नागरिकहरूको अवस्थाबारे पछिल्लो जानकारी सार्वजनिक गरेको छ। दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा घाइतेहरूको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जनाएको हो।
गत शुक्रबार अबजान क्षेत्र मा क्षेप्यास्त्रको भग्नावशेष खस्दा सात जना नेपाली नागरिक घाइते भएका थिए। प्रारम्भिक विवरण अनुसार तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको थियो।
तर, दूतावासले दिएको अद्यावधिक जानकारी अनुसार घाइतेमध्ये छ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। गम्भीर अवस्थामा रहेका एक जना भने अझै अस्पतालमा उपचाररत रहेका छन्।
दूतावासका अनुसार उपचाररत घाइतेको अवस्था अहिले खतरामुक्त रहेको छ। उनले टेलिफोनमार्फत आफू चाँडै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको जानकारी दिएका छन्।
दूतावासले घाइतेहरूको उपचार, सहयोग तथा समन्वयका लागि निरन्तर काम गरिरहेको जनाएको छ। साथै पश्चिम एशियामा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै यूएईमा रहेका सबै नेपाली नागरिकलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।
दूतावासले आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न र सतर्क रहन पनि अनुरोध गरेको छ।