केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं — ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका केपी शर्मा ओली लाई अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौं का न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्री को इजलासले अनुसन्धानका लागि ओलीलाई थप दुई दिन हिरासतमा राख्ने आदेश दिएको हो।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा दर्जनौँको ज्यान गएको विषयमा अनुसन्धान भइरहेको छ। सोही प्रकरणमा गत शनिबार ओलीलाई पक्राउ गरिएको थियो।
हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचाररत ओलीको बयान बिहीबारदेखि लिन थालिएको छ। स्वास्थ्य अवस्था कमजोर रहेकाले जिल्ला प्रहरी परिसर र सरकारी वकिलको टोली अस्पतालमै पुगेर बयान लिइरहेका छन्।
प्रहरीका अनुसार बयान प्रक्रिया अझै नसकिएकाले थप समय आवश्यक परेको हो। चिकित्सकहरूले तत्काल डिस्चार्ज गर्न नसकिने बताएपछि अनुसन्धान टोलीले अस्पतालमै पुगेर बयान लिने काम जारी राखेको जनाएको छ।
यसै प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक पनि हिरासतमा छन्। उनको बयान जिल्ला प्रहरी परिसरमै भइरहेको छ।
यसअघि दुवै जनालाई अदालतमा उपस्थित गराएर पाँच दिनको म्याद लिइएको थियो। बिहीबार पुनः म्याद थपिएको हो। लेखकलाई दोस्रो पटक भिडियो कलमार्फत अदालतमा उपस्थित गराइएको थियो भने ओलीले अस्पतालबाटै म्याद लिएका थिए।
उक्त घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्की को संयोजकत्वमा गठन गरिएको जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो।
प्रकरणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।