पोखरामा फेवाताल किनारका अवैध संरचना हटाउने अभियान सुरु, ३२ टहरा भत्काइयो
पोखरा — पोखरा महानगरपालिका ले फेवाताल किनारामा मापदण्डविपरीत बनेका संरचना हटाउने अभियान सुरु गरेको छ।
महानगरपालिकाले आज नेपाल प्रहरीको सहयोगमा डोजर प्रयोग गरी सेदीदेखि खपौदीसम्मका क्षेत्रमा रहेका ३२ वटा अवैध टहरा भत्काएको जनाएको छ। महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा ती संरचना हटाइएको हो।
यसअघि नै महानगरपालिकाले फेवाताल वरपरको ६५ मिटर सीमाभित्र पिल्लर गाडेर क्षेत्र निर्धारण गरिसकेको छ। सो सीमाभित्र बनेका संरचनालाई अवैध मानिँदै हटाउने प्रक्रिया अघि बढाइएको हो।
यसैबीच, नेपाल सरकार ले पनि फेवाताल क्षेत्रमा भएको अतिक्रमण हटाउने विषयलाई प्राथमिकतामा राखेको छ। हालै मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरेको १०० कार्यसूचीभित्र फेवाताल अतिक्रमण हटाउने योजना समावेश गरिएको छ, जसअनुसार तीन महिनाभित्र अतिक्रमण हटाउने कार्य सुरु गर्ने निर्णय गरिएको छ।
स्थानीय तह र संघीय सरकारको संयुक्त पहलसँगै फेवाताल क्षेत्रको संरक्षण र व्यवस्थापनमा थप कडाइ हुने अपेक्षा गरिएको छ।