भरतपुर–१ आँपटारीचोकमा सवारी दुर्घटना, १५ जना घाइते
चितवन — भरतपुर महानगरपालिका–१ को आँपटारीचोकमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बोलेरो ठोक्किएका थिए। सोही क्रममा पछाडिबाट आएको बा प्र. ०३–००१ ह २५४८ नम्बरको अटो बोलेरोमा ठोक्किएको थियो।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइतेमध्ये १४ जना बसमा सवार थिए भने एक जना अटो चालक रहेको पुष्टि भएको छ।
घाइतेमध्ये सात जनाको भरतपुर अस्पताल, चार जनाको चितवन मेडिकल कलेज र चार जनाको नेसनल सिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सबैको अवस्था सामान्य रहेको छ।
प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ।