सुगमका अस्पतालबाट विशेषज्ञ चिकित्सक फिर्ता गर्ने अभियान जारी, थप ७ जनाको काज रद्द
काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सुगम क्षेत्रका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको दरबन्दी भएको स्थानमा फर्काउने अभियानलाई निरन्तरता दिएको छ।
मन्त्रालयले नवौँ र दशौँ तहका थप सात जना विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्री निशा मेहता को निर्देशनमा यसअघि साताको सुरुमा १४ जना चिकित्सकलाई फिर्ता पठाइसकिएको छ भने दोस्रो चरणमा थप चिकित्सकहरूलाई सम्बन्धित दरबन्दी भएका अस्पतालमा खटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार वर्षौँदेखि पहुँचका आधारमा काठमाडौं तथा अन्य सुगम क्षेत्रका अस्पतालमा कार्यरत चिकित्सकहरूलाई दुर्गम क्षेत्रका नागरिकलाई सेवा सुनिश्चित गर्न उनीहरूको वास्तविक कार्यस्थलमा पठाइएको हो।
यसपटकको निर्णयअनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीर अस्पताल मा काजमा रहेका विशेषज्ञहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पताल मा फिर्ता पठाइएको छ।
काज फिर्ता गरिएका चिकित्सकमध्ये डा. दिनेश शिवाकोटीलाई कान्ति बाल अस्पतालबाट भेरी अस्पताल नेपालगञ्ज, डा. चुनु दर्नाललाई भरतपुर अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, र डा. प्रमोद कट्टेललाई परोपकार प्रसूति अस्पतालबाट पोखरा प्रतिष्ठान पठाइएको छ।
त्यस्तै, डा. सोहनी बज्राचार्यलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पोखरा प्रतिष्ठान, डा. श्याम किशोर चौधरीलाई वीर अस्पतालबाट भरतपुर अस्पताल, डा. दिवस सापकोटालाई भरतपुर अस्पतालबाट नारायणी अस्पताल तथा डा. रन्जु पोखरेललाई पोखरा प्रतिष्ठानबाट गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा खटाइएको मन्त्रालयले जनाएको छ।