रास्वपामा सरकार गठनबारे तीव्र छलफल: रवि–बालेन नेतृत्वमा मन्त्री छनोट अन्तिम चरणमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार गठन तथा मन्त्री चयनका विषयमा शीर्ष तहमा छलफल तीव्र बनेको छ। पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बीच निरन्तर छलफल भइरहेको छ भने सरकारमा पठाउने व्यक्तिहरूको नामबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको छ।
पार्टी स्रोतका अनुसार गत ५ गतेदेखि सरकारमा सहभागिताबारे शीर्ष नेतृत्वबीच निरन्तर छलफल भइरहेको छ। प्रारम्भमा सांसदहरूको अभिमुखीकरण तालिमपछि लामिछाने र शाहले उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसँग दरबारमार्गस्थित एक होटलमा समेत छलफल गरेका थिए। त्यसयता पनि दुई नेताबीच छुट्टै र निरन्तर संवाद जारी छ।
छलफलमा हालसम्म दोस्रो तहका नेताहरूलाई समावेश नगरिएको बताइएको छ। कोषाध्यक्ष लिमा अधिकारीका अनुसार शीर्ष नेताबीचको छलफल सचिवालयसम्म औपचारिक रूपमा पुगेको छैन। यद्यपि, बुधबार बेलुकापछि वा १२ गतेभित्र नामहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।
पार्टी सचिवालय र केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने सम्भावना बलियो देखिएको छ। सोही बैठकले सरकारमा पठाइने व्यक्तिहरूको सूची पनि टुंग्याउने बताइएको छ।
अहिले मन्त्री पदका लागि सम्भावित नामहरूबारे आन्तरिक छलफल भइरहेको छ। अर्थमन्त्रीमा स्वर्णिम वाग्ले लगभग निश्चित मानिएको छ भने गृहमन्त्रीका लागि डीपी अर्याल र बालेन पक्षका सुनिल लम्सालबीच प्रतिस्पर्धा देखिएको छ। साथै, पूर्व गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि राष्ट्रियसभामा लैजाने विषयमा छलफल भइरहेको छ।
अन्य मन्त्रालयहरूमा पनि विभिन्न नेताहरूको नाम चर्चामा छन्। पर्यटन मन्त्रालयमा विराजभक्त श्रेष्ठ, परराष्ट्रमा शिशिर खनाल, उद्योग मन्त्रालयमा गणेश पराजुली, कानुन मन्त्रालयमा सोबिता गौतम वा सुलभ खरेलमध्ये एक, स्वास्थ्य मन्त्रालयमा डाक्टर तोसिमा कार्की र डाक्टर लेखजंगको नाम अगाडि आएको छ।
त्यस्तै, महिला तथा बालबालिका मन्त्रालयमा इन्दिरा राना मगर, युवा तथा खेलकुद मन्त्रालयमा बब्लु गुप्ता र सुदन गुरुङ, ऊर्जा मन्त्रालयमा सागर ढकाललगायत विज्ञहरूको नाम पनि छलफलमा छ।
पार्टी स्रोतका अनुसार मन्त्रालयहरूको संख्या १५ वा १८ बनाउने विषयमा पनि छलफल भइरहेको छ। साथै, योग्य नभए मन्त्रीलाई फिर्ता बोलाउने र सांसदको भूमिका पूरा नगरे पुनः फिर्ता पठाउने खाका समेत तयार पारिँदैछ।
यदि गृहमन्त्रालयमा सहमति जुटेन भने डीपी अर्याललाई सभामुख बनाउने विकल्प पनि बलियो देखिएको छ। त्यस अवस्थामा सोबिता गौतमलाई अन्य जिम्मेवारी दिने विषयमा पनि छलफल हुनसक्ने बताइएको छ।
पार्टीभित्र शीर्ष नेताहरूले एकअर्कासँग समन्वयमा नै सरकारमा सहभागी हुने व्यक्तिहरूको छनोट अन्तिम चरणमा पुर्याउने प्रयास गरिरहेका छन्।