मुस्लिम समुदायद्वारा हर्षोल्लासका साथ इद उल फित्र पर्व मनाइँदै
काठमाडौं, चैत ८ — मुस्लिम समुदायले आज पवित्र इद उल फित्र पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिना रमजानभर निराहार व्रत (रोजा) बसेपछि यो पर्व मनाउने गरिन्छ।
एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बसेका मुस्लिम धर्मावलम्बीहरूले आज बिहान विशेष नमाज पाठ गरी पर्वको सुरुआत गरेका छन्। नमाजपछि आफन्तजन तथा ठूलाबडाकहाँ गई आशीर्वाद लिने तथा सानालाई आशीर्वाद दिने परम्परा रहेको छ।
इदको अवसरमा घरघरमा सेवई, खजुर लगायतका मीठा परिकार तयार गरी पाहुनालाई सत्कार गर्ने चलन छ। साथै, खुशी साटासाट गर्दै दीनदुःखी तथा गरिबलाई दान गर्ने परम्पराले यस पर्वको विशेष महत्त्व रहेको छ।
नेपालका विभिन्न मस्जिद तथा इदगाहहरूमा विशेष नमाज पाठ गरिएको छ। काठमाडौंको घन्टाघरस्थित जामे मस्जिद र काश्मी मस्जिदमा पनि बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
मुस्लिम धर्मग्रन्थ अनुसार, प्रत्येक धर्मावलम्बीले आफ्नो वार्षिक बचतको करिब साढे दुई प्रतिशत रकम जकातका रूपमा दान गर्नुपर्ने प्रावधान छ। यसका साथै ‘सदकात-उल-फितर’ अन्तर्गत गहुँ वा सो बराबरको नगद दान गर्ने परम्परा पनि रहेको छ, जसले गरिब तथा आवश्यकतामा परेकाहरूलाई सहयोग पुर्याउँछ।
इद उल फित्रले आपसी सद्भाव, दया, दानशीलता र सामाजिक एकताको सन्देश दिने विश्वास गरिन्छ। यस अवसरमा मुस्लिम समुदायले नयाँ लुगा लगाएर एकअर्कासँग शुभकामना आदानप्रदान गर्दै पर्व मनाउने गरेका छन्।