अत्यावश्यक आयोजनामा प्राथमिकता दिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह ले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
मंगलबार सिंहदरबार मा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सीमित बजेटभित्र रहेर अत्यावश्यक योजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिने बताएका हुन्।
छलफलका क्रममा प्रदेशमा अघि बढ्न नसकेका महत्त्वपूर्ण योजनाहरूका बारेमा जानकारी लिइएको कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिमका लागि तत्काल करिब २ अर्ब ६० करोड रुपैयाँ आवश्यक रहेको भन्दै बजेट विनियोजनको माग गरिएको थियो, जसमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
प्रधानमन्त्री शाहले बजेटको आकारअनुसार अत्यावश्यक योजनाहरूलाई अघि बढाउने आश्वासन दिएका छन्।
यसअघि सोमबार पनि प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशबाट निर्वाचित विभिन्न दलका सांसदहरूसँग छलफल गर्दै क्षेत्रीय आवश्यकताबारे जानकारी लिएका थिए।