प्रिमनसुन सक्रिय : देशभर मौसममा तीव्र उतारचढाव, हावाहुरी र वर्षाको सम्भावना
काठमाडौं । देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको छ। बिहान मौसम सफा देखिए पनि दिउँसोपछि हावाहुरी, चट्याङ र वर्षा हुने क्रम बढ्दै गएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज अपरान्हपछि विशेषगरी मधेश, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ। हिजोको तुलनामा हावाको गति केही कम हुने अनुमान गरिएको छ।
विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले प्रिमनसुनको समयमा मौसम छिट्टै परिवर्तन हुने भएकाले पूर्वानुमानमा सामान्य फरक पर्न सक्ने बताइन्। उनका अनुसार हावाहुरीसँगै रूख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम कायमै रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि मेघगर्जन, चट्याङ, असिना र मध्यम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा एक्कासी मौसम बदली हुने क्रम जारी रहने देखिएको छ। विभागले हावाहुरीको समयमा घरभित्र सुरक्षित बस्न, खुला स्थान र कमजोर संरचनाबाट टाढा रहन तथा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै जोखिमबारे सचेत रहन तर अनावश्यक रूपमा नआत्तिन पनि अनुरोध गरिएको छ।